म्याग्दी । विभिन्न रुपमा अपाङ्गता भएका व्यक्तिहरु पर्यटकको रुपमा अन्नपूर्ण आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित चार हजार एक सय ९० मिटरको उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा विभिन्न ६ प्रकारका अपाङ्गता भएका पर्यटकहरु पुगेका हुन् ।
उनीहरु हुमखोलादेखि मौरिस हर्जोग पदमार्ग हुँदै करिब १८ घण्टाको पदयात्रापछि चार हजार ५० मिटरको उचाइ रहेको पञ्चकुण्ड ताल हुँदै आधार शिविर पुगेको पदयात्रामा सहभागी अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकले बताउनुभयो ।

पदयात्रामा शारीरिक अपाङ्ग भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टिसम्बन्धी दृष्टिविहीनता अपाङ्गता भीम गुरुङ, सुनुवाइसम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रूपमा बन्दना राई सहभागी थिए ।
अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्न पदयात्रा गरिएको विकले बताउनुभयो । आँट र हिम्मत हुने हो भने शारिरीक रुपमा भएको अशक्तताले उद्देश्य चुम्न र गन्तव्य भेट्न रोक्दैन भन्ने सन्देश पनि प्रवाह गरिएको पदयात्रामा सहभागी भिम गुरुङले बताउनुभयो ।
प्रतिक्रिया