logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • बेनीमा समता फाउनडेसनद्वारा जात र लैङ्गिकताका सवालमा अन्तरक्रिया

    • myagdipress myagdipress
    • २१ श्रावण २०८२ बुधबार
    बेनीमा समता फाउनडेसनद्वारा जात र लैङ्गिकताका सवालमा अन्तरक्रिया

    म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाम बेनीमा जात, लैङ्गिकता र यौनिकताको विषयमा दलित समुदायका सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ ।

    समता फाउन्डेसनको आयोजनामा बुधबार बेनीमा आयोजित कार्यक्रममा जात, लैङ्गिकता र यौनिकतालाई लक्षित गरि निर्माण भएका परम्परागत रुढिवादी भाष्यलाई हटाउनु पर्नेमा जोड दिईएको छ ।

    कार्यक्रममा समता फाउन्डेनका अध्यक्ष डा. मदन परियारले समाजका केही व्यक्तिहरुले दलित समुदायलाई अपमान हुने गरि रुढिवादी भाष्य तथा कथनहरु प्रयोग गर्ने गरिएकाले त्यस्ता भाष्यहरुलाई अन्त्य गरि नयाँ भाष्यहरु प्रचलनमा ल्याउन अध्ययनशिल, सृजनशिल, र वौद्धिक शक्ति तयार गर्न आवश्यक रहेको बताउनुभयो ।

    दलितका लागि संविधानमा उल्लेख भएका अधिकारको कार्यान्वयनमा सवै दलितहरु एकजुट हुनुपर्ने उहाँको भनाई थियो । पहिलो संविधानसभाले बनाएको राज्य पुनरसंरचना उच्चस्तरीय आयोगका संयोजक समेत रहनुभएका डा. परियारले भन्नुभयो, ‘संविधानले हामीलाई अधिकार दिएको छ, यसका धाराहरुलाई कार्यान्वयन गर्न र आवश्यकता अनुसार संशोधन गर्नका लागि पनि दवाव सृजना गर्नुपर्छ’ । पार्टीबाट माथि उठेर दलित अधिकारका लागि लड्न एक हुनुपर्ने उहाँको विचार थियो ।

    कार्यक्रममा समताका सिनियर फाउन्डर गोपाल नेपालीले समता दलित समुदायको इतिहास र वर्तमान अवस्थाको विषयमा अध्ययन, अनुसन्धान तथा ज्ञानको भण्डारको रुपमा रहेर समतामुलक समाज निर्माणका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्दै आईएको बताउनुभयो । उहाँले नीति निर्माण तहमा पनि दलित समुदायका आवाज वुलन्द पारिएको बताउनुभयो ।

    समताका परियोजना प्रमुख संगीता दुतराजले विदेशी दातृ निकायको सहयोगमा संचालित विभिन्न परियोजनाबाट जात व्यवस्था, लैङ्गिक तथा यौनिक विभेद न्युनिकरण, न्यायपूर्ण समाज निर्माण तथा जागरणका कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।

    कार्यक्रममा म्याग्दीका दलित अगुवाहरु याम किसान, बालकुमार लामिछाने, बल बहादुर विश्वकर्मा, मन बहादुर चर्मकार, सुवास विश्वकर्मा, सुजता किसान, मिन परियार लगायतले दलित सशक्तिकरणका कार्यक्रमहरु सहित आर्थिक, शैक्षिक र सांस्कृतिक रुपान्तरणमा जोड दिन आवश्यक रहेको विचार व्यक्त गरेका थिए । कार्यक्रमका संचालन समता फाउन्डेसनका कार्यक्रम अधिकृत सुदिक्षा परियारले गर्नुभएको थियो ।



    myagdipress myagdipress    
  • २१ श्रावण २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP