अमित विश्वकर्मा
म्याग्दी, १७ असार ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक सुन्दरतासंगै मौलिक लोकसंस्कृति, परम्परा, धार्मिक आस्था र सामाजिक सद्भावको एकताले वाँधिएको भूमि हो । संसारको दशौँ अग्लो अन्नपूर्ण हिमाल, आधारशिविरमा रहेको विशाल पञ्चकुण्डताल, घोरेपानी पुनहिल क्षेत्रमा रहेको विश्वकै ठुलो गुँरासे जंगल, रुप्से झरना, नारच्याङ झरना, संसारकै गहिरो अन्धगल्छी, चौँरी र हिमालको अनुपम संगम, खोप्रालेक लगायतका प्राकृतिक छटाहरुले भरिएको अन्नपूर्णको मुहारलाई खयरवाराही, प्यारीवराही, नागीवराही, मणीबराही, कान्छीवाराही गिद्धेश्वर मन्दिर लगायतका धार्मिक आस्थाका धरोहरहरुले सुशोभित बनाएका छन ।
अन्नपूर्ण गाउँपालिकामा विशेषगरी मगर समुदायको उल्लेख्य बसोबास रहेको छ । मगर समुदायले जोगाएर राखेको सोरठी नाच यहाँको सांस्कृतिक आत्मा हो । मादलको तालसँगै गुञ्जिने सोरठीका भाका मनोरञ्जनका साधन मात्र होइनन्, यहाँका पुर्खाको इतिहास र परम्परा हुन् । गाउँका उत्सव र पर्वमा सोरठीका लयहरू गुञ्जिँदा सिङ्गो गाउँ नै संस्कृतिको रंगमा रङ्गिएको अनुभूति हुन्छ । सदियौँदेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका संस्कार, संस्कृति र परम्पराले अन्नपूर्णको आफ्नै विशिष्ट पहिचान निर्माण गरेको छ ।
नारच्याङ, दाना, दोवा, शिख, पाउद्वार, खिवाङ, भुरुङ, हिस्तान, काफलडाँडा, राम्चे र नागीजस्ता बस्तीहरू युगौँदेखि जोगिँदै आएका परम्परा, रीतिरिवाज, र मौलिक जीवनशैलीका जीवन्त संग्रहालय हुन् । ढुङ्गाले छाएका घरहरू, साँघुरा गल्लीहरू, सामूहिक बस्ती र पुर्खाले छोडेका सांस्कृतिक चिनारीहरूले यी गाउँहरूलाई आज पनि आफ्नो मौलिक स्वरूपमा उभ्याइरहेका छन् ।
वडा नम्वर १ दोवा गाउँ
जनैपूर्णिमाको अवसरमा खयरबराही र नागी वराहीमा श्रद्धापूर्वक पूजा गरी सबैले सुन्ने गरी वर माग्ने परम्परा यहाँको अर्को विशिष्ट सांस्कृतिक पहिचान हो। । मनले चिताएको कुरा देवतासामु खुलेर व्यक्त गर्दा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास पुस्तौँदेखि निरन्तर चलिआएको छ । समय बदलिँदै गए पनि यो धार्मिक आस्था ओझेलमा परेको छैन, बरु अझै विस्तार हुँदै गएको छ । श्रद्धा, विश्वास र संस्कृतिको यो अद्भुत संगमले अन्नपूर्णको धार्मिक पर्यटनलाई अझ फराकिलो बनाएको छ ।
अन्नपूर्ण हिमालको काखमा फैलिएका गाउँहरूमा बिहानको पहिलो घामसँगै हिमाल मुस्कुराउँछ, नारच्याङ र रुप्सेजस्ता झरनाहरूको कलकल आवाजले प्रकृतिको आफ्नै गीत गाउँछ । ती झरनाको मधुर स्वर, लेकाली हावाको सुस्केरा र चराचुरुङ्गीको चिरबिराहटबीच हुर्किएको यहाँको संस्कृतिले प्रकृतिसँगै गहिरो मित्रता गाँसेको छ । अन्नपूर्णको सामाजिक जीवन पनि उत्तिकै सुन्दर छ । एउटै आँगनझैँ बनेका ढुङ्गेघरका बस्ती, दुःख–सुखमा एकअर्का विच ऐँचोपैँचो, अर्मपर्म र सरसापटीको परम्पराले यहाँको समाजलाई आत्मीयताको डोरीले बाँधेको छ । जातीय विविधताबीचको सद्भाव, आपसी सहयोग र सामाजिक एकताले अन्नपूर्णलाई केवल सुन्दर गाउँपालिका होइन, साझा संस्कृतिको उत्कृष्ट उदाहरण बनाएको छ ।
लेकाली जीवनको अर्को सुन्दर अध्याय हो—भेडापालन । वर्षायाम लागेपछि भेडीगोठ लिएर बुकी, पाटन र खर्कतिर उक्लिने परम्परा पहिले जस्तो व्यापक नभए पनि पूर्ण रूपमा हराएको छैन । केही गोठालाहरूले अझै पनि पुर्खाले देखाएको बाटो पछ्याउँदै हिमाली चरन क्षेत्रमा भेडा चराउने परम्परालाई निरन्तरता दिइरहेका छन् । यो पेशा मात्र होइन, हिमाली सभ्यता र संस्कृतिको एउटा महत्त्वपूर्ण पाटो हो ।
खेतीपाती राम्रो होस्, गाउँमा सुख–समृद्धि रहोस् र प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित भूमे पूजा गर्ने चलन पनि यहाँको मौलिक सांस्कृतिक सम्पदा हो । पृथ्वीलाई शक्तिका रूपमा सम्मान गर्दै गरिने यो पूजा पुस्तौँदेखि निरन्तर चल्दै आएको छ । आधुनिकताको प्रभाव बढ्दै गए पनि भूमेप्रतिको आस्था र सम्मान गाउँलेहरूको मनबाट हराएको छैन ।
मगर संस्कृति र जीवनशैलीको झल्किेने घोडेपानीको मगर संग्रहालय
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घोडेपानीका महिलाहरूले स्थापना गरी संचालन गरेको मगर संग्रहालयले परम्परागत मगर संस्कृति बोलेको छ । घोरेपानी र पुलहिल घुम्न जाने पर्यटकहरुकाो आकर्षण केन्द्र बनेको उक्त संग्रहालयमा अहिले दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्दछन । मगर संग्रहालयमा संग्रहित जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, कृषि औजार, पुराना सिक्का, रुपैयाँ, १ सय वर्ष अघि बावुबाजेले प्रयोग गरेका मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडा, भांग्रा लगायत मगर जातिले परम्परादेखि प्रयोग गर्दै आएका सम्पूर्ण सामग्रीहरू संग्रहित गरिएको छ ।
त्यहाँका स्थानीयले आफ्ना घरघरमा रहेका पुराना सामग्रीहरु संग्रहालयमा संकलन गरेका हुन । चोयाबाट बनेका डाली, थुन्से, लगायतका पुराना सामग्री, काठबाट बनाईएका परम्परागत सामग्रीहरु तथा तामा, ढलौट, चरेशका पुराना भाडाकुँडाहरु संग्रहालयका आकर्षण बनेका छन ।

करवाकेलीमा सङ्ग्रहालयः पन समुदायको पहिचान
वडा नम्वर ८ काफलडाँडास्थित करबाकेलीमा स्थानीयवासी तथा स्वदेश–विदेशमा रहेका पुन समुदायको आर्थिक सहयोगबाट पुन सङ्ग्रहालय स्थापना गरिबएको छ । करिब ८० लाख रुपैयाँ लागतमा निर्माण भएको सङ्ग्रहालयमा पालिकाबाट ७ लाख र गण्डकी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम चन्दामार्फत जुटाइएको हो ।
करबाकेली बाबा संरक्षण समितिको पहलमा स्थापना गरिएको सङ्ग्रहालयमा पुन समुदायका परम्परागत पोशाक, भाँडाकुँडा, हातहतियार, गहना, पुराना पुस्तक, धातुका सिक्कालगायत कला, संस्कृति, रहनसहन र जीवनशैली झल्काउने सामग्री सङ्कलन गरी राखिएको छ । लोपोन्मुख मौलिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको करबाकेली संरक्षण समितिका सचिव रवि गर्वुजा पुनले बताउनुभयो ।
परम्परागत शैलीमा निर्मित दुईतले भवन रहेको करबाकेली परिसरमा करबाकेली बाबाको थान, सभाहल, सामुदायिक लज, खेलमैदान, पदमार्ग र अन्य पूर्वाधारसमेत निर्माण भएका छन् । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् ।
मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरूले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकाङक्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मंगलवार र मङ्सिरको पहिलो उजेली मंगलवार पारेर पूजा गर्छन् ।

पूर्वाधार विस्तारले फस्टाएको खेलकुद
गाउँपालिकाको प्रत्यक वडाहरुमा व्यवस्थित खेलमैदान निर्माण हुनथालेपछि त्यहाँका युवाहरुलाई खेलकुद गतिविधि संचालन गर्न सहज भएको छ । खेलाडीलाई नियमित अभ्यासमा समेत सहज हुँदा युवाहरुमा खेलभावनाको विकास भएको छ । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माण कार्य गत वर्ष सम्पन्न भएको हो । खेलमैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्लो ६ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो ।
व्यवस्थित खेलमैदान निर्माण भएपछि खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । एकतीस मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने भएको छ । घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघि नै खेलमैदान निर्माण भएको थियो । सुविधा सम्पन्न खेलमैदान निर्माणले युवाहरुमा उत्साह छाएको छ ।

मनिवराही युवा क्लव दोवाको खेलमैदान व्यवस्थापन, स्टेज र सभाहल निर्माण गरिएको छ । करिव ३०० जना अट्ने सभाहल र त्यसको माथिल्लो तलामा स्ट्ेज र स्टोर बनाईएको छ । दोवाका वडा अध्यक्ष दिलिप गर्वुजाले ३ वर्षको समयमा वडाले सवैभन्दा ठुलो लगानी यहि खेलमैदानमा गरेको बताउनुभयो । त्यस्तै मराकामा क्लवको खेलमैदान र स्टेज निर्माण भएको छ । स्टेज निमार्ण भएपछि सांस्कृतिक कार्यक्रम संचालन गर्न सहज भएको क्लवका सचिव विकास पुन बताउनुहुन्छ । सभाहलमा गाउँको भेला, छलफल, वैठकहरु संचालन गर्न फाईदा पुगेको छ ।
दानाको घट्टेडाँडामा रुप्से युवा क्लवको खेलमैदान निर्माण गरिएको छ । वर्षेनीको योजनाबाट करिव ५० लाखको लगानीमा स्टेज र जालीको घेरावार सहितको खेलमैदान निर्माण भएको वडा अध्यक्ष रमेश पूर्जा बताउनुहुन्छ । नारच्याङको लेकगाउँमा विद्यालयमा खेलकुद पार्क निर्माण भएको छ भने गाढपारमा जनजागरण युवा क्लवको भवन बनाईएको छ । शिखमा पालिका र गण्डकी प्रदेश सरकारको समेतको बजेटले व्यवस्थित खेल मैदान निर्माण भएको छ । ढलान, घेरावार, शौचालय निर्माण, सभाहल तथा प्याराफिट पनि निर्माण गरि आउदो जनैपूर्णिमा पर्व विशेष मेलामा उद्घाटन गर्ने तयारी गरिएको न्यु कान्छी वराही युवा क्लवका अध्यक्ष उमेश पाईजाले बताउनुभयो ।
खयर वराही युवा क्लव पाउद्वारले पनि खेलकुद मैदान व्यवस्थापन गरेको छ । घार युवा क्लबले खरिद गरेको जग्गामा खेलमैदान निर्माण सुरु गरेको छ । पालिकाको २० लाख र एकिकृत सेवा कार्यालयको रु ५ लाखमा जग्गा सम्याउने कार्य सम्पन्न गरेको छ । पोखरेबगर युवा क्लवले कभर्डहल निर्माण गर्ने भएको छ भने भुवानी युवा क्लवले जर्मन संस्थाको १० लाख बजेटमा १६ सय मिटर दौड प्रतियोगिता सम्म संचालन गर्न मिल्ने गरि खेलकुद मैदान सम्याएको छ । खिवाङ युवा क्लवको स्टेज तथा सभाहल निर्माण भएको छ । राम्चे, काफलडाँडा र नागीमा पनि व्यवस्थित खेल मेदान यसअघि नै बनेका छन । प्याराफिट निर्माण तथा स्टेज निर्माण, प्याराफिट व्यवस्थान लगायतका कार्य संचालन गर्न बजेटको व्यवस्था गरिएको वडा अध्यक्ष खम गर्वुजाले जानकारी दिनुभयो ।

कला संस्कृति संरक्षणका लागि पालिकाको चासो
अन्नपूर्ण गाउँपालिकाले यहाँको पहिचान झल्काउने परम्परागत मौलिका कला र संस्कृतिको संरक्षणका लागि स्थानीयहरुलाई निरन्तर सघाउँदै आएको छ । दोवामा संस्कृति पुस्तान्तरणका लागि पुख्र्यौली र नौमति बाजाको प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ । प्रशिक्षणले नयाँ पुस्तालाई अभिरुचि पैदा गराएको छ । भुरुङ तातोपानीमा पुख्र्यौलीको संरक्षणका लागि प्रतियोगिता संचालन गरिएको छ । पुख्र्यौली समुहलाई पोसाक उपलब्ध गराइएको छ भने मुल आमा समुहलाई भेषभुषा प्रदान गरिएको छ । दानमा पुख्र्यौली समुहलाई डे«ेस र बाद्यवादनका सामग्री हस्तान्तरण गरिएको छ । बाजा समुहलाई आवश्यक सहयोग गरिएको छ । नारच्याङमा पुख्र्यौली प्रशिक्षणका लागि आगामी आर्थिक वर्षका लागि रु ५ लाख बजेट विनियोजन गरिएको छ ।
शिखमा पञ्चेबाजा संरक्षणका लागि सहयोग गरिएको छ । पुख्र्यौली प्रतियोगिता आयोजना गरिएको छ । घारमा आमा समुहलाई २ लाख रुपैयाँ बराबरको भेषभुषा प्रदान गरिएको छ । खिवाङ आमा समुहलाई पनि डे«स दिएर पालिकाले सघाएको छ । पोखरेबगर आमा समुहलाई भाडावर्तन र विवाह समारोहमा प्रयोग हुने कुर्चि लगायतका सामाग्री उपलब्ध गराएको छ । घारको बाजा समुहलाई रु २ लाख बराबरको बाजा सामग्री प्रदान गरिएको छ । भजन समुह पनि सहयोग गरेको वडा कार्यालयले खिवाङको पुख्र्यौली समुहलाई पनि सहयोग गरेको छ ।

हिस्तानमा पुख्र्यौली समुह तथा आमा समुहलाई सामग्री सहयोग भएको छ। कापलडाँडा र नागीको पुख्र्यौली समुहलाई सामग्री सहयोग गरिएको छ । भने करवाकेलीको चमेनागृह मर्मतका लगि आगामी आर्थिक वर्षका लागि आवश्यक वजेट व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकामा बास्केटबल खेलको राम्रो सम्भाना छ । यहाँका बास्केटवलका खेलाडीहरुले राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागीता जनाउदै आएका छन । हालैमात्र कास्कीको घान्द्रुकमा आयोजना भएको अन्तरपालिका स्तरीय बास्केटवल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको टिम उपविजेता बनेको थियो ।
यस अघि भने राष्ट्रिय स्तरको प्रतियोगितामा प्रथम भएर फर्किएको थियो । खेल र खेलाडीहरुको विकासका निम्ती पालिकाले सघाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो । उहाँका अनुसार राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा जिल्ला तथा प्रदेशमा पदक जित्ने खेलाडीहरुलाई प्रोत्साहनका लागि पालिकाले सम्मान र थप पुरस्कार प्रदान गर्दै आएको छ । अन्नपूर्णमा दौडको सम्भावना बढाउनका लागि हालैमात्र ७६ औँ अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण आधारशिविरदेखि नारच्याङ सम्म राष्ट्रिय स्तरको म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको र उक्त प्रतियोगितामा थुप्रै धावकहरु सहभागी भएको उहाँले बताउनुभयो ।

पालिकामा एक वडा एक मेलाको नीति कार्यान्वयन भएकाले गाउँहरुमा संचालन हुने मेला व्यवस्थित भएको छ । खेलाडी उत्पादन हुने मुख्य आधार गाउँघरमा संचालन हुने परम्परागत महत्वका मेलाहरु नै भएकाले पूर्ण रुपमा नरोकि १ वर्षमा एउटा वडाको एउटा टोलमा मेला लगाउन पाईने नियम बनाई प्रभावकारी कार्यान्वयन गरिएको गाउँपलिका अध्यक्ष भरत कुमार पुनले बताउनुभयो । पालिकाले खेलकुद विकासका लागि पुर्वाधार निर्माणमा जोड दिएको उहाँको भनाई छ । पोखरेबगरमा पालिका स्तरीय कभर्डहल निर्माण सुरु भएको छ । सवै वडाहरुमा सुविधा सम्पन्न खेलमैदान निर्माणको अन्तिम चरणमा पुगेका छन, पूर्वाधार निर्माण सकिएपछि पालिकाको लगानी खेलाडीको क्षमता विकासतर्फ उन्मुख हुन्छ, उहाँले भन्नुभयो ।
कला, संस्कृतिको इतिहास, परम्पराको उजागर, महत्व, विशेषता, किंवदन्ती लगायतको विषयमा खोज, अध्ययन अनुसन्धान हुन थालेका छ । नागीको थमन तिलिजाले नागीको रितिरिवाज, भेषभुषा, संस्कृति, परम्परा लगायतको विषयमा पुस्तक तयार गर्नुभएको छ । डा प्रतिभा पुनले पेरीवराह भुमेपूजाको अनुसन्धान सुरु गर्नुभएको छ । खोज, अध्ययन र अनुसन्धानबाट संस्कृतिको जड कुरा थाहा हुने भएकाले आगामी दिनमा पालिकाकै तफबार्ट यस्ता खोज, अनुसन्धान कार्यलाई व्यवस्थित बनाईने अध्यक्ष पुनको भनाई छ ।
अन्नपूर्ण गाउँपालिकाको कला र संस्कृति यहाँका समुदायको पहिचान, इतिहास र जीवनशैलीसँग जोडिएको छ । यहाँका अमुल्य संस्कृतिलाई विस्तार गरि पर्यटनसंग जोड्दै जाने हो भने अन्नपूर्ण गाउँपालिका गण्डकी प्रदेशकै एक महत्वपूर्ण सांस्कृतिक गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्यतासँगै मौलिक संस्कृति, परम्परा, लोककला र खेलकुदको माध्यमबाट पर्यटन विकासको ढोका खोल्नतर्फ अन्नपूर्णको पाईला अगाडी बढेको छ ।

प्रतिक्रिया