काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङमा पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको छ।
प्रहरीका अनुसार, चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।
यस्तै, चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।
धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । प्रहरीका अनुसार, धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा ७ वटा घर र ७ वटा टहरामा क्षति पुगेको छ ।
धार्चे गाउँपालिका–३ सल्लेरीका २२ घर जोखिममा परेको छ । यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।
प्रतिक्रिया