logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • तोरीपानीमा सामुदायिक ‘होमस्टे’ संचालन

    • myagdipress myagdipress
    • १६ मंसिर २०८२ मंगलवार
    तोरीपानीमा सामुदायिक ‘होमस्टे’ संचालन

    म्याग्दी, १६ मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास सञ्चालन गरिएको छ । मंगलबार एक समारोहको आयोजना गरि बेनी नगरपालिका प्रमुख सुरत केसीले सामुदायिक होमस्टेको उद्घाटन गर्नुभएको हो । तोरीपानी गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न तथा त्यस वरपर रहेका पर्यटकीय स्थलहरुमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि स्थानीयले घरबास संचालनमा ल्याएका हुन ।

    इको हिमाल नेपाल संस्थाले होमस्टेका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग गरेको छ । त्यस्तै घरबास व्यवस्थित संचालन लागि स्थानीयलाई तालिम समेत प्रदान गरेको थियो । होमस्टे उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पर्यटक आगमनका लागि घरबास पहिलो पूर्वाधारको रुपमा रहेको भन्दै होमस्टे संचालनले तोरीपानीको भ्रमणमा आउने पर्यटकलाई सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारी, इको हिमाल नेपाल संस्था अष्ट्रियाका अध्यक्ष प्रोफेसर डाक्टर कर्टु लुगर, इको हिमालयका निर्देशक नारायण ढकाल, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, वडा अध्यक्ष चक्र केसी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतम लगायतले तोरीपानीलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न होमस्टेले प्रमुख भूमिका खेल्ने बताउनुभयो ।

    पहिलो चरणमा तोरीपानीका पाँचघरमा पाहुना राख्नका लागि कोठा र शौचालय लगायत पूर्वाधार तयार गरिएको सामुदायिक होमस्टे समूहका सदस्य इव गिरी सन्यासीले बताउनुभयो । इको हिमाल संस्थाले बेड, विस्तरा, सरसफाइका लागि आवश्यक पर्ने सामाग्री र तालिम उपलब्ध गराएको उहाँको भनाई छ ।

    होमस्टेमा पूर्वाधार निर्माणका लागि प्रति होमस्टे सञ्चालकलाई ७० हजार र समूहलाई दुई लाख रुपियाँ संस्थाले सहयोग गरेको छ । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन गरिएको समूहकी अध्यक्ष सीता खत्रीले बताउनुभयो ।

    अहिले तोरीपानीमा जुना खत्री, रश्मी चोखाल, सुजता चोखाल, ईव गिरी र भगवान क्षेष्ठको घरमा होमस्टे सुरु भएको हो । दोस्रो चरणमा थप घरमा पनि घरबास सञ्चालनको तयारी भएको सामुदायिक होमस्टे समुहकी सचिव उषा पाईजाले बताउनुभयो ।

    समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीबाट धवलागिरि र अन्नपूर्ण रेन्जका हिमालहरु देख्न सकिन्छ । तोरीपानी मसलेदार फल टिमुरखेतीका लागि प्रसिद्ध छ यँहा उत्पादन भएका टिमुर स्वदेश तथा विदेशमा समेत निर्यात हुने गर्दछ । तोरीपानीको शिरमा ऐतिहासिक स्थल ढोलठान दरबार, धार्मिक स्थल पछै, जगन्नाथ लगायत रहेका छन ।



    myagdipress myagdipress    
  • १६ मंसिर २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP