logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • बरंजामा एमालेको चुनावी सभाः विकास र सुशासन प्रमुख एजेण्डा भएको उम्मेदवार श्रेष्ठको भनाई

    • myagdipress myagdipress
    • १३ फाल्गुन २०८२ बुधबार
    बरंजामा एमालेको चुनावी सभाः विकास र सुशासन प्रमुख एजेण्डा भएको उम्मेदवार श्रेष्ठको भनाई

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत मङ्गलवार मंगला गाउँपालिका –३ बरंजामा चुनावी सभा सम्पन्न भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी सभा आयोजना गरिएको हो ।

    वडा नम्वर ३ आर्भाङमा आयोजित चुनावी सभामा बोल्दै एमाले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले नेकपा एमालेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरुलाई आत्मसाथ गर्दै जिल्लाको विकास र समृद्धिका लागि संसदमा दरिलो आवाज उठाउने बताउनुभयो । समृद्ध म्याग्दी, सुखी म्याग्देलीको संकल्प लिएर चुनावमा आएको भन्दै जिल्लाबासीको भरोसालाई टुट्न नदिने उहाँको भनाई थियो ।

    सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा विकास गर्ने, सुशासन कायम, रोजगारी सृजना, उद्यमशिलताको विकास गर्ने योजना लिएर जनतामाझ आएको उम्मेदवार श्रेष्ठले सुनाउनुभयो । उहाँले हाल स्तरउन्नति भईरहेको पखेर–बरंजा सडकलाई कालोपत्र गर्न पहल गर्ने बताउनुभयो । वरंजाको ऐतिहासिक स्थल चिनाकोट दरवार क्षेत्रमा थप पुर्वाधार निर्माण, झाँक्रिपानीलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने, प्रतिवद्दता जनाउनुभयो ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार नरदेवी पुनले नेकपा एमालेले राष्ट्रिय स्वाधीनताको रक्षा र सरकार तथा प्रतिपक्षको भूमिकामा रहँदा पनि जनमुखी कामहरु गर्दै आएको बताउनुभयो । समृद्धिको सपना देखेको पार्टी एमाले हो भन्दै त्यो संकल्प पुरा गर्ने पार्टी पनि एमाले नै भएकोले एमालेलाई ढुक्कका साथ भोट दिन उहाँले आग्रह गर्नुभयो । आफु सांसद तथा मन्त्री हुँदा जिल्लाको विभिन्न ठाउँमा सडक, पक्की पुल निर्माण तथा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण नीति निर्माण गरेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद भुपेन्द्र बहादुर थापा, जिल्ला कमिटि सचिवालय सदस्य नारायण जिसी, पालिका कमिटि अध्यक्ष याम थापा, लगायतका नेताहरुले स्पष्ट योजना, नीति, कार्यक्रम र भिजनसहित निर्वाचनमा एमालेले सहभागिता जनाएको बताउँदै विकास र परिवर्तनका लागि एमालेलाई भोट दिएर जिताउनुपर्ने बताएका थिए ।

    कार्यक्रम नेकपा एमाले निर्वाचन परिचालन कमिटि बरंजाका संयोजक भिम रोकाको अध्यक्षता, अखिल नेपाल महिला संघ जिल्ला कमिटि अध्यक्ष यशुदा रोकाको स्वागत र नेकपा एमाले मंगला गाउँपालिका कमिटिका सचिव राजु पाण्डेको संचालनमा सम्पन्न भएको थियो । बरंजाबासीको भव्य उपस्थितिमा उम्मेदवारहरुलाई बाजागाजा र भजनकिर्तन सहित स्वागत गरिएको थियो ।



    myagdipress myagdipress    
  • १३ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP