बेनी, ३ बैशाख । मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। वडा नं.४ बरंजा, बुकेनीस्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास निर्माण कार्यलाई पारदर्शी बनाउन, योजना छनोटमा प्राथमिकता निर्धारण गर्न तथा कृषि र पशुपालनका अनुदान वास्तविक किसानसम्म पुग्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।
सार्वजनिक सुनुवाइमा बुद्धि घर्तीले बजेट वितरण आवश्यकताका आधारमा समानुपातिक हुनुपर्ने बताउँदै कुनै वडामा बढी र कुनैमा कम गर्न नहुनेमा जोड दिनुभयो । योगेन्द्रमान शेरचनले योजनाहरू सम्पन्न भई भुक्तानी लिन जाँदा लेखा र योजना शाखामा कर्मचारी नहुँदा समस्या हुने गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा दमबहादुर छन्त्यालले पालिकाबाट सञ्चालन हुने योजनाहरूको भुक्तानी दिनुअघि अनुगमन अनिवार्य गर्नुपर्ने बताउँदै अनुगमनबिना भुक्तानी गर्दा कामको गुणस्तरमा असर पर्ने भएकाले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै मोहनलाल सापकोटाले उपभोक्ता समितिमार्फत सम्पन्न योजनामा अनुगमन हुने तर ठेकदारमार्फत सम्पन्न कतिपय योजनामा गुणस्तर किन कायम हुन नसकेको भन्ने प्रश्न उठाउनुभयो ।

भरत बुढाथोकीले कृषि तथा पशु क्षेत्रको अनुदान वितरणमा एकरूपता नभएको गुनासो गर्दै योजना अनुगमनको अभावले गुणस्तरमा कमी आएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीले प्रभावकारी अनुगमन बढाउनुपर्ने तथा शिक्षा क्षेत्र सुधार र विद्यार्थी संख्या वृद्धि सम्बन्धी योजनामा ध्यान दिन सुझाव दिनुभयो।
कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पालिकाबाट सञ्चालित योजनाहरू क्रमशः सम्पन्न हुँदै जाँदा ग्रामीण जीवनशैली सहज बन्दै गएको बताउनुभयो । उहाँले योजनामा हुने अनियमितता रोक्न स्थानीयस्तरबाट समेत अनुगमन गर्न आग्रह गर्नुभयो । साथै पालिकाले युवा लक्षित कार्यक्रम सञ्चालन गरेको र आफ्नै भवन निर्माणका लागि जग्गा प्राप्तिमा ढिलाइ भए पनि अब छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री क्षेत्रीले साना तथा ठूला सबै योजनाहरू स्थलगत अनुगमनपछि मात्र भुक्तानी गरिएको बताउँदै बजेट विनियोजन भूगोल, जनसंख्या र आवश्यकताका आधारमा कार्यपालिकाबाट पारित हुने स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले आगामी वर्षमा प्राप्त सुझावअनुसार उपलब्ध जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा शाखा प्रमुख गणेशबहादुर कटुवालले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कृषि शाखाका जगत बानियाँले अनुदानको दुरुपयोग नभएको र आवश्यकताका आधारमा समान रूपमा वितरण गरिएको गर्नुभयो ।
इन्जिनियर रुचेन्द्र अधिकारीले सडक स्तरोन्नतिमा प्रयोग भएका सामग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक प्रविधि र जनशक्तिको अभाव रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं.४ मा समयमै काम सम्पन्न गरी गुणस्तरीय काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार राकेश शर्मा र धनिलाल गर्बुजाले गर्नुभएको थियो ।
कार्यक्रममा वडाअध्यक्ष, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष एकजित रोकाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया