म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सुनौलो एक हजार दिनका आमाहरूलाई लक्षित गरी स्तनपान तथा पोषण प्रवद्र्धन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रदेश अस्पताल बेनीमा आयोजना गरिएको थियो ।
कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई शिशुको शारीरिक र मानसिक विकासका लागि जीवनको पहिलो एक हजार दिन अत्यन्त महत्वपूर्ण हुने विषयमा जानकारी गराइएको थियो । साथै, जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, ६ महिनासम्म केवल आमाको दूध खुवाउने र त्यसपछि थप पोषिलो आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा स्वास्थ्यकर्मीहरूले प्रशिक्षण दिएका थिए ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले आमा र शिशुलाई स्वस्थ राख्न पोषण र स्तनपान अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिशुको भविष्य उसको जीवनको पहिलो एक हजार दिनमा नै निर्धारण हुन्छ । यस अवधिमा आमाले पर्याप्त पोषण प्राप्त गर्नु र शिशुलाई नियमित रूपमा स्तनपान गराउनु अत्यन्त आवश्यक छ । बेनी नगरपालिका मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ।”
नगर प्रमुख केसीले कुपोषण न्यूनीकरण र स्वस्थ समाज निर्माणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको पनि बताउनुभयो । कार्यक्रममा सहभागी आमाहरूले स्तनपान, सन्तुलित आहार, सरसफाइ तथा शिशु हेरचाहसम्बन्धी व्यवहारिक जानकारी प्राप्त गरेको बताएका थिए ।
प्रतिक्रिया