बेनी । म्याग्दी र मुस्ताङमा अति भारी वर्षाको सम्भावनासहित ‘रेड अलर्ट’ जारी भएपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबारदेखि आइतबारसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म दुवै सडकमा सवारी सञ्चालन रोकिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार रातिको समयमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यस्तो निर्णय गरिएको हो । सडकमा सुरक्षाकर्मीको गस्तीसमेत बढाइएको प्रशासनले जनाएको छ ।
बेनी–दरबाङ सडकको फापरखेत र बाङ्गे पहिरो तथा बेनी–जोमसोम सडकको ठूलो बैसरी, महभीर, गुईठे, भिरकाटे, रुप्से, दाना र बाँदरजुङ भिर लगायतका क्षेत्र पहिरो तथा बाढीको उच्च जोखिममा छन् ।
प्रशासनले जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न र जारी सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया