म्याग्दी, ९ भदौ । संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा म्याग्दीमा पहिलोपटक विद्युत विरतण प्रणालीको स्तरोन्नती हुने भएको छ ।
राज्यमन्त्री गर्बुजाले जिल्लामा विद्युत आपुर्तिलाई नियमित र भरपर्दो बनाउन पहिलो पटक विद्युत वितरण प्रणाली स्तरोन्नी योजना संचालनका लागि करिब दश करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त भएसँगै उहाँले म्याग्दीमा अनियमित विद्युत आपुर्तिमा चासो दिनुभएको थियो ।
स्तरोन्नती पछि म्याग्दीमा विद्युत आपुर्ति नियमित र भरपर्दो हुनेमा विश्वास व्यक्त गर्नुभयो । ‘म्याग्दीमा अनियमित विद्युत आपुर्तिका कारण जिल्लाबासी मारमा पर्दै आएका छन् । जिल्लाबासीको समस्या समाधान गर्न वितरण प्रणालीमा सुधार गर्न बजेट व्यवस्थापन भएको छ । स्तरोन्नती भएपछि विद्युत आपुर्ति नियमित हुनेमा विश्वास लिएको छु ,’उहाँले भन्नुभयो ।जलविद्युत आयोजनाको हिसाबले देशकै अग्रणी स्थानमा भएतापनि म्याग्दी जिल्लामा विद्युत्को आपूर्ति भरपर्दो नभएकोमा उहाँको ध्यानाकर्षण हुँदै आइरहेको थियो ।
मन्त्रालयले वितरण प्रणाली स्तरोन्नतीलाई प्राथमिकता दिएर नेपाल प्राधिकरण मार्फत कार्यक्रम संचालन थालेको राज्यमन्त्री गर्बुजाको भनाइ छ । जिल्लामा विद्युत वितरण प्रणालीको स्तरोन्नतीका लागि ठूलो लगानीको आवश्यकता रहेकोमा हाल विनियोजित दश करोड बजेटबाट प्राथमिकताका आधारमा स्तरोन्नतीको योजना संचालन हुने उहाँले जानकारी दिनुभयो ।
म्याग्दीबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले थप्नुभयो , ‘यसअघि २२० केभी क्षमताको कालिगण्डकी प्रसारण लाइन निर्माण भएपछि राष्ट्रिय प्रसारण ग्रीड सँगको सम्पर्क सहज भएको छ । अन्तिम चरणमा पुगेको निर्माणाधिन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माण समापन भएपछि प्रसारण क्षमता सुदृद हुन्छ ।
सोही बमोजिम मन्त्रालयले वितरण प्रणालीलाई प्राथमिकता दिएर नेपाल विद्युत प्राधिकरण मार्फत कार्यक्रम संचालन थालेको छ ।’’ उहाँले जिल्लाको दुर्गम गुर्जा बाहेकका केही बस्तीमा संचालित विद्युतिकरण विस्तार योजनालाई पुर्णता दिन बजेट प्रयोग हुने बताउनुभयो । भौगोलिक रुपमा दुर्गम बस्ती गुर्जामा विद्युत विस्तार योजना संचालनको लागि बजेट व्यवस्थापनको गर्ने गरी लागि परेको उहाँको भनाइ छ ।गुर्जा बाहेकका सबै बस्तीमा विद्युत विस्तारको योजना संचालन भइरहेको छ ।
म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७,डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३, अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।
म्याग्दीको विद्युत् वितरण प्रणालीको स्तरोन्नति कार्य कार्यक्रम नै बनाएर सम्भवतः अझै सम्म नभएकोले यो वर्षको स्विकृत कार्यक्रम ऐतिहासिक सुरुवात भएको राज्यमन्त्रीका निजी सचिव इन्जिनियर विनोद शर्माले बताउनुभयो । उहाँका अनुसार, स्तरोन्नती आयोजना अन्तर्गत एलटी, एचटी लाइन निर्माण, ईन्सुलेटेड तार जडान, तारको क्षमता विस्तार गर्ने, ट्रान्सफर्मर थप जडान सहित क्षमता विस्तार गर्ने लगायत काम हुने छन् ।
प्रतिक्रिया