म्याग्दी, १९ जेठ । म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरमा महिलाहरुका लागि सात दिने मादल बजाउन सिकाउने तालिम सुरु भएको छ ।
वडा कार्यालयको सहयोग तथा वडा स्तरीय आमा समुह सञ्जालको आयोजनामा सुरु भएको तालिमको वडा सदस्य कुमारी किसानले उद्घाटन गर्नुभएको हो ।
परम्परागत लोक बाजाको संरक्षण गर्दै महिलाहरुलाई मादल बजाउने सिप सिकाउने उद्धेश्य राखेर तालिमको आयोजना गरिएको हो ।
तालिममा वडा नम्वर १ का विभिन्न आमा समुहहरुको प्रतिनिधिको रुपमा २० जना महिलाहरुको सहभागीता रहेको छ । तालिमको कलाकार अमित विश्वकर्माले सहजीकरण गर्नुभएको छ ।

गाउँघरमा संचालन हुने रत्यौली, भजन लगायतका साँस्कृतिक गतिविधिहरुमा मादल बजाउन महिलाहरुलाई सक्षम बनाउन यो तालिमले भूमिका खेल्ने सञ्जालका अध्यक्ष गौरी थापा मगरले बताउनुभयो । वडाले सवै समुह तथा वर्गलाई समेटेर विभिन्न कार्यक्रमहरु संचालन गरेको वडा अध्यक्ष टेक बहादुर थापाको भनाई छ । कार्यक्रम वडा स्तरीय आमा समुह सञ्जालकी अध्यक्ष थापाको अध्यक्षता, दुर्गा रावल थापाको स्वागत तथा जनतादेवी क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया