logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • मोना कतार खेलकुद विभागद्वारा भलिबल कभर्ड हल निर्माणका लागि एक लाख १५ हजार सहयोग

    • myagdipress myagdipress
    • २८ असार २०८३ आईतवार
    मोना कतार खेलकुद विभागद्वारा भलिबल कभर्ड हल निर्माणका लागि एक लाख १५ हजार सहयोग

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाँचौँ मोना भलिबल कप–२०२६ बाट बचत भएको रकम तथा प्रतियोगितामा उपविजेता बनेबापत प्राप्त पुरस्कार रकमसमेत थपेर म्याग्दीमा निर्माण हुन लागेको भलिबल कभर्ड हलका लागि जग्गा खरिद अभियानमा रु एक लाख १५ हजार पाँच सय ५५ सहयोग गरेको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागसँगको सहकार्यमा आयोजित प्रतियोगिताबाट संकलित उक्त रकम शनिवार बेनीस्थित मोना अन्तर्राष्ट्रिय कार्यसमितिको कार्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जिल्ला भलिबल संघलाई हस्तान्तरण गरिएको हो।

    मोना कतारका अध्यक्ष बाबुराम भण्डारी, पूर्व महासचिव कृष्ण शर्मा तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजिन्द्र बानियाँलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो।

    इद–उल–अजहा र नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजित प्रतियोगितामा विभिन्न व्यक्ति, सङ्घसंस्था तथा सहयोगी दाताहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताबाट १९ हजार १३० कतारी रियाल आम्दानी भएको थियो भने १६ हजार ३४५ कतारी रियाल खर्च भई दुई हजार ७८५ कतारी रियाल बचत भएको थियो। यही बचत रकममा उपविजेता पुरस्कारसमेत थपेर सहयोग उपलब्ध गराइएको हो।

    कार्यक्रममा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजिन्द्र बानियाँले जिल्लामा भलिबल कभर्ड हल निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग संकलन अभियान मार्फत देश विदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त भईरहेको बताउनुभयो । उहाँले प्रवासी नेपाली समुदायले जिल्लाको खेलकुद पूर्वाधार विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

    मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले संस्थाले स्थापना कालदेखि नै म्याग्दीमा सामाजिक, शैक्षिक, स्वास्थ्य, विपद् व्यवस्थापन तथा खेलकुद विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जिल्लाको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले प्रतियोगिता सफल बनाउन खेलकुद विभागका कार्यक्रम संयोजक कृष्ण पटेल, विभाग संयोजक पल सुन्दास, उपसंयोजक डम्बर थजाली, टिम व्यवस्थापक, स्वयंसेवक, प्रायोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो ।

     



    myagdipress myagdipress    
  • २८ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP