बेनी । खेलाडीका लागि सबैभन्दा ठूलो सपना पदक जित्नु मात्र होइन, आफूले खेलेको भूमिमा नयाँ पुस्ताले अझ राम्रो अवसर पाओस् भन्ने पनि हुन्छ । यही सोचलाई व्यवहारमा उतार्दै म्याग्दीका पूर्व भलिबल खेलाडी तथा छन्त्याल परिवार अष्ट्रेलियाका अध्यक्ष बुद्धिमान छन्त्यालले बेनीमा निर्माण हुन लागेको सुविधासम्पन्न भलिबल कभर्डहल अभियानका लागि ३ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
रघुगंगा गाउँपालिका–८ दुवाडीका स्थायी बासिन्दा छन्त्यालले आफ्ना स्वर्गीय बुबा लालमन छन्त्याल र आमा सतनदेवी छन्त्यालको स्मृतिमा उक्त सहयोग प्रदान गर्नुभएको हो । विदेशमा रहे पनि जन्मभूमिको खेलकुद विकासप्रतिको उहाँको प्रतिबद्धताले अभियानलाई थप उत्साह र ऊर्जा दिएको छ ।
म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँका अनुसार बुद्धिमान छन्त्यालले जिल्लाबाट खेल जीवन सुरु गरेर काठमाडौंका विभिन्न क्लबदेखि मोना अष्ट्रेलिया र छन्त्याल परिवार अष्ट्रेलियासम्म आफ्नो खेल कौशल प्रदर्शन गर्नुभएको थियो । भलिबल क्षेत्रमा उहाँले पु¥याएको योगदानको सम्मानस्वरूप संघले उहाँलाई आजीवन सल्लाहकारको जिम्मेवारीसमेत दिएको छ ।
अध्यक्ष बानियाँका अनुसार कभर्डहल निर्माण अभियान केवल एउटा भवन निर्माणको योजना मात्र होइन, म्याग्दीको खेलकुद भविष्यसँग जोडिएको दीर्घकालीन सपना हो । जिल्लामा भलिबलको व्यवस्थित प्रशिक्षण, वर्षभरि प्रतियोगिता सञ्चालन तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको छ ।

खुला आकाशबाट आधुनिक कभर्डहलसम्मको यात्रा
भलिबलमा राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही, राष्ट्रिय खेलाडी कमला पुन लगायत थुप्रै प्रतिभाशाली खेलाडी जन्माएको म्याग्दीमा अहिले पनि अधिकांश प्रतियोगिता खुला मैदानमै सञ्चालन हुँदै आएका छन् । वर्षा, घाम र मौसमको प्रतिकूलताले खेल गतिविधि प्रभावित हुने गरेको अवस्था अन्त्य गर्ने उद्देश्यले कभर्डहल निर्माणको योजना अघि सारिएको हो । हाल बेनी नगरपालिकाको सहयोगमा वडा नम्वर ७ बौद्ध विहार क्षेत्र स्थित संघले खरिद गर्न लागेको जग्गामा अस्थायी खेलमैदान तयार गरिएको छ । तत्कालका लागि प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने गरि मैदान तयार गरिएपनि दीर्घकालीन रूपमा साही ठाउँमा आधुनिक कभर्डहल निर्माण गर्ने लक्ष लिईएको छ ।
पहिलो लक्ष्य जग्गा खरिद
बेनी नगरपालिका–७ स्थित बौद्ध विहार नजिक करिब दुई रोपनी आठ आना क्षेत्रफलको जग्गा १ करोड ४२ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने लक्ष्य संघले लिएको छ । जग्गा खरिद सम्पन्न भएपछि दोस्रो चरणमा अत्याधुनिक कभर्डहल निर्माण सुरु गरिनेछ ।
प्रस्तावित कभर्डहलमा करिब एक हजार दर्शक अट्ने भलिबल कोर्ट, जिमहल, खेलाडीका लागि ड्रेसिङ रुम, बैठक कक्ष, कार्यालय, क्यान्टिन, प्यारापिट, आधुनिक प्रकाश तथा ध्वनि प्रणाली, एलईडी स्कोर बोर्ड, शौचालय, आवास कक्ष, जेनेरेटरलगायत सुविधा रहनेछन् । साथै अन्य इन्डोर खेललाई समेत समेट्ने गरी बहुउद्देश्यीय संरचना बनाइने योजना छ ।
साझा अभियान, साझा सपना
कुल करिब ३ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको कभर्डहल चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि देश–विदेशमा रहेका म्याग्देली, खेलप्रेमी तथा शुभेच्छुकबाट सहयोग जुटाउने अभियानलाई तीव्र बनाइएको छ । पूर्व खेलाडी बुद्धिमान छन्त्यालको सहयोगले आर्थिक योगदान मात्र थपेको छैन, विदेशमा रहेका म्याग्देलीलाई पनि आफ्नो गाउँ र जिल्लाको खेलकुद विकासमा हातेमालो गर्न प्रेरित गरेको छ । भलिबलप्रति म्याग्दीको पहिचानलाई अझ सवल बनाउने यो अभियान एउटा पूर्वाधार निर्माणको परियोजना मात्र नभई पुस्तौँसम्म खेलाडी उत्पादन गर्ने साझा संकल्पका रूपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया